






काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५५ अंकले घटेर २ हजार ७१९.७७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६९.८३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ४ अर्ब ७२ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘आधारभूत रुपमा बजार घट्नु पर्ने कुनैपनि कारण छैन । सबै विषय सकारात्मक नै छन् । प्राविधिक रुपमा पनि बजार सपोर्ट लेभलमा आएको छ । २६८० विन्दु भन्दा तल बजार नजाने सुनिन्छ । यस कारण पनि आज बजार सम्हालिएको हो ।’
अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘पछिल्लो अवस्थामा ब्रोकरहरुले साधारण सभा गर्नुपर्ने, बोनस दिनुपर्ने जस्ता कारणले उधारो टाइट भएको छ । यही कारणले बजारमा बिक्री दबाब देखिएको छ । बजारमा चाडपर्वको दबाब पनि परेको छ । केही अल्पकालिन लगानीकर्ता समेत बजारबाट बाहिरिएका छन् । ’
यद्यपी बेच्नेहरु पछि हटेका कारण आज बजार भने केही सम्हालिन खोजेको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बढ्यो भने ११ वटा समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात ०ं५८ प्रतिशतले बढ्यो ।
यस्तै म्युचुअल फण्ड समूह ०.१३ प्रतिशतले बढ्यो ।
होटल समूह आज सर्वाधिक अर्थात ०.६५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३१ प्रतिशत, विकास बैंक ०.३८, फाइनान्स ०.३७, हाईड्रो ०.०२, लगानी ०.३१, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१० र अन्य समूह ०.५० प्रतिशतले घट्यो ।