






विराटनगर । नक्कली भ्याट बिलमार्फत कारोबार गरेको आरोपमा पक्राउ परेका विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीमाथि १ अर्ब ४० करोड रुपैयाँ बिगो र ६ महिनाको कैद फैसला गरिएको छ। आन्तरिक राजस्व कार्यालय विराटनगरले भन्सार विभागको समन्वयमा सो निर्णय गरेको हो।
गत असार १६ गते पक्राउ परेका बियानीमाथि सुरुमा १ अर्ब ३१ करोड बिगो तोकिएको थियो। तर, विस्तृत छानबिनपछि थप ९ करोड थप गरी अन्तिम बिगो १ अर्ब ४० करोड पुर्याइएको हो। ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का सञ्चालक बियानी विराटनगर–१० का स्थायी बासिन्दा हुन्।
यो प्रकरणमा संलग्न अन्य फर्महरूको अनुसन्धान जारी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका अनुसार, प्रारम्भिक छानबिनमा खरिद–बिक्री विवरण मिसम्याच भएपछि कारवाही प्रक्रिया अघि बढाइएको हो।
बियानीले बिगो रकम तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको हो। राजस्व विभागले यो निर्णयलाई अन्तिम भनेको छ, तर असन्तुष्ट पक्षले पुनरावलोकन तथा न्यायाधीकरण हुँदै सर्वोच्च अदालतसम्म जाने कानुनी बाटो खुला छ।