






काठमाडौं । रुसमा आएको शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । चेतावनीपछि जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश दिइएको छ । तीमध्ये करिब १० हजार ५०० मानिस होक्काइडोमा छन् ।
केही मानिस टोकियोको दक्षिणमा रहेको चिबा समुद्री तटमा अवस्थित एक अवलोकन केन्द्रमा पनि जम्मा भएका छन् ।
अधिकारीहरूले जापानको उत्तरी तटीय क्षेत्र खाली गरी अग्ला स्थानमा जान अपिल गरेका छन् । जापानको प्रशान्त तटमा सुनामीका दर्जनौँ लहर ठोक्किएका छन् । प्रशान्त तटबाहेक उत्तरमा होक्काइडोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म घर खाली गर्न चेतावनी जारी गरिएको छ ।
मौसम विज्ञान एजेन्सीले सुनामीको लहर तीन मिटरसम्म माथि जान सक्ने बताएको छ ।
जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले फुकुसिमा डाइची र फुकुसिमा डाइनी परमाणु प्लान्टका कामदारलाई सुरक्षितरूपमा निकालेर अग्ला स्थानमा लगिएको जनाएको छ ।
सन् २०११ मा जापानमा आएको ९ म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामीपछि फुकुसिमा डाइची प्लान्टमा ठूलो परमाणु दुर्घटना भएको थियो ।
टेप्कोले प्लान्टमा कुनै क्षति नभएको र सुनामीसम्बन्धी चेतावनीहरूमा निगरानी राखिएको बताएको छ । यस हप्ताको सुरुमा टेप्कोले इन्धनको भग्नावशेष पूर्णरूपमा हटाउन १२ देखि १५ वर्ष ढिलाइ हुन सक्ने घोषणा गरेको थियो ।