Premier Cables
Premier Steel

स्वास्थ्य

स्वास्थ्य बीमामार्फत आठ जटिल रोगको उपचारमा दोब्बर सहायता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न १:०५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँसम्म उपचार सहयोग पाउने भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार यी आठ जटिल रोगको उपचारमा पूर्ववत् एक लाख रुपैयाँमाथि थप एक लाख गरी अब दुई लाख रुपैयाँको सहायता उपलब्ध हुनेछ। स्वास्थ्य बीमा कार्यक्रममार्फत यो सेवा आगामी साउन १ गतेदेखि लागू हुने भएको हो।

बिज्ञापन

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका नागरिकलाई राहत दिने उद्देश्यले यो निर्णय गरिएको जानकारी दिए। उनले भने, “गम्भीर रोग लाग्दा जनताले उपचार खर्च जुटाउन सकिरहेका छैनन्। तिनका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार रकम बढाएका छौं।”

स्वास्थ्य बीमा बोर्डले मंगलबार गरेको बैठकले निर्णयलाई स्वीकृति दिएको हो। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आठवटा गम्भीर रोगमा बीमालेख भएका बिरामीलाई अब दुई लाख रुपैयाँको उपचार खर्च कभर गरिने जानकारी दिए।

यसअघि नै बीमालेख भएको नागरिकले आफू बसेकै स्थानबाट सेवा लिन मिल्ने नीति लागू गरिएको थियो। साथै, बीमा कोषमा आम्दानी बढाउने योजनासमेत अघि सारिएको छ। मन्त्री पौडेलले सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा बीमा कार्यक्रममा आबद्ध गराउने नीति सार्वजनिक गरिसकेका छन्।

स्वास्थ्य बीमा ऐन भए पनि प्रभावकारी कार्यान्वयन नभएकाले नयाँ प्रयासमार्फत कार्यान्वयनलाई तीव्र बनाउने र कोषको आम्दानी वृद्धि गरिने अपेक्षा गरिएको छ। वैदेशिक रोजगारीमा गएकाहरू र उनीहरूको परिवारलाई समेत बीमा सेवामा समेट्न सरकार विभिन्न तहसम्म सक्रिय भएको छ।

साथै, सरकारले आगामी बजेटमार्फत बीमा बोर्डको बक्यौता शून्यमा झार्ने निर्णय गरिसकेको छ। संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा पठाउने र प्रगतिशील कर प्रणालीमार्फत कोषको आम्दानी वृद्धि गर्ने योजनासमेत अघि सारिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बीमा बोर्डले अनियमित रूपमा भुक्तानी माग गर्ने केही अस्पतालहरूमाथि कारबाही गरेको छ भने सेवा निगरानी र प्रणाली सुधारका कामहरू पनि तीव्र पारिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।

कोषमा सदस्यता र प्रिमियम दुवै वृद्धि भएसँगै बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा स्थायी र जनमुखी बनाउन सकिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka