Premier Cables

अर्थसमाचार

अम्बेकोशी सहकारीका ऋणीको सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने

Calendar आइतबार, असार २२, २०८२  | अपराह्न २:१७ बजे

इटहरी। इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणीहरूलाई २१ दिनभित्र ऋण भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अन्तिम सूचना जारी गरेको छ। कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मातहतमा रहेको समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भुक्तानी नगर्ने ऋणीलाई कानुनी कारबाही हुने चेतावनी दिएको हो।

यसअघि २०८१ साल चैत १ गते ३५ दिने सूचना प्रकाशित गरिएको भए पनि सबै ऋणीहरू सम्पर्कमा नआएपछि पुनः यो सूचना जारी गरिएको जनाइएको छ। अब साउन ५ गतेसम्म ऋणको सावाँ र ब्याज तिर्न नसक्ने ऋणीमाथि प्रदेश सहकारी ऐन, २०७६ को दफा ६६, ६७ र ६९ तथा सहकारी नियमावली, २०७७ अनुसार कारबाही हुने स्पष्ट गरिएको छ।

बिज्ञापन

समितिले ऋणीहरूलाई राष्ट्रिय वाणिज्य बैंकको खाता नं. २६५०१०००००४२६००१ मा रकम जम्मा गरेर सक्कल भौचरसहित समितिको कार्यालयमा स्वयम् उपस्थित भई राफसाफ गर्न आग्रह गरेको छ। ऋण बुझाउन आनाकानी गर्नेहरूका चल–अचल सम्पत्ति रोक्का राखिनेछ भने बैंक तथा वित्तीय संस्थासँग भएका कारोबारहरूमा पनि रोक लगाइनेछ। त्यस्तै, नाम कालो सूचीमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

प्रदेश सहकारी ऐनको दफा ८४(२) अनुसार अम्बे कोशी सहकारी संस्था ‘समस्याग्रस्त’ घोषित भइसकेको छ। त्यसअन्तर्गत बचतकर्तालाई उनीहरूको रकम फिर्ता दिलाउने प्रक्रियाअनुरूप ऋण असुली अभियान सञ्चालन गरिएको हो।

यसअघि उक्त सहकारीमा करोडौं रकम अपचलन भएको आरोपमा नेकपा एमालेकी केन्द्रीय सदस्य विष्णुकुमारी लिम्बु (अमृता सुब्बा) सहित १३ जनाविरुद्ध सुनसरी जिल्ला अदालतले धरौटी तोकेको थियो। तीमध्ये केहीको धरौटी उच्च अदालतले थप गरी आदेश जारी गरिसकेको छ। तत्कालीन अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर)ले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा रिट दायर गरे पनि २०८१ मंसिर ६ गते उच्च अदालतले उनलाई थुनामै राख्ने जिल्ला अदालतको फैसला सदर गरेको थियो।

सहकारी संस्थामार्फत ठगिएका सयौं बचतकर्ताको रकम फिर्ता दिलाउन समितिले तीव्र गतिमा कारबाही अघि बढाएको जनाएको छ। समितिको भनाइमा समयमै ऋण नतिर्नेहरूका कारण अन्य बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन विलम्ब भोग्नु परेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो

अर्थ

अर्थ
Advertisement

Developed by Pigeon Advertising