तेह्रथुम। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव विप्लव घोषको अगुवाईमा लामो समयदेखि बन्द रहेको म्याङलुङ नगरपालिकास्थित कभर्ड हल पुन: सञ्चालनमा आएको छ। विविध कारणले लामो समयदेखि बन्द रहेको कभर्ड हलको ताला खुलेसँगै आजबाट कभर्ड हल पुन: सञ्चालनमा आएको हो।
सदस्य सचिव घोषले नियमित जिल्ला अनुगमनको क्रममा तेह्रथुम पुग्दा म्याङलुङ नगरपालिका वडा नं १ मा अवस्थित कभर्ड हल बन्द रहेको जानकारी पाए लगत्तै सर्वपक्षीय भेला डाकेर कभर्ड हलको ताला खोल्दै पुन: सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो। उहाँले स्थानीय समस्याको कारण कभर्ड हलमा ताला लागेको हुँदा स्थानीय प्रशासन तथा सुरक्षा निकाय, जनप्रतिनिधिहरूको उपस्थितिमा सर्वसम्मत निर्णय गर्दै ताला खोल्ने निर्णय गरिएको बताउनु भयो।
सदस्य सचिव घोषले कभर्ड हल बन्द रहेको अवस्थामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत बाधा पर्ने भएकोले तत्कालै कभर्ड हल खोलेर खेलाडीहरूलाई अभ्यासका लागि उपलब्ध गराउने जिल्ला खेलकुद विकास समितिले तयारी गरेको समेत बताउनु भयो।
त्यस्तै, घोषको नेतृत्वको जिल्ला अनुगमन टोलीले जिल्ला खेलकुद विकास समितिको कार्यालय, जिल्लामा रहेका खेलकुद संरचना, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतको विषयमा अनुगमन गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख किशोर कुमार सम्बाहाङ्फेले जानकारी दिनुभयो।

Oplus_16908288
