Premier Cables

कोशी प्रदेश

भारी वर्षाको पूर्वानुमान लगत्तै कोशी सरकारको पूर्वतयारी तीव्र, सडक र पुल उच्च निगरानीमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र बनाएको छ। वर्षाका कारण सडक, पुललगायतका भौतिक पूर्वाधारमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रदेशका १४ वटै जिल्लामा आवश्यक जनशक्ति, उपकरण तथा संयन्त्र तयारी अवस्थामा राखिएको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालय तथा कर्मचारीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। सम्भावित क्षति न्यूनीकरणसँगै सडक तथा अन्य पूर्वाधारमा क्षति पुगे तत्काल मर्मत तथा पुनःस्थापना गर्न सकिने गरी मेसिन, उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न भनिएको हो।

विज्ञापन

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडक, पुल तथा अन्य संरचनाको निगरानी बढाउन मन्त्रालयले निर्देशन दिएको जनाएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले विपद्का बेला उद्धार, राहत तथा अवरुद्ध सडक खुलाउने कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहसहित सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न निर्देशन दिइएको बताए।

मन्त्रालयले जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित अनुगमन गर्न, उपलब्ध जनशक्ति तथा मेसिन–उपकरण तयारी अवस्थामा राख्न र विपद् उत्पन्न भए तत्काल परिचालन हुन मातहतका कार्यालयलाई निर्देशन दिएको छ। क्षतिको अवस्था तथा उद्धार, मर्मत र पुनःस्थापनाका कामको विवरण तत्काल मन्त्रालयमा पठाउनसमेत भनिएको छ।

भारी वर्षाका कारण सडक अवरुद्ध हुने, पहिरो खस्ने तथा पुललगायतका संरचनामा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयहरूलाई विशेष निगरानी बढाउन भनिएको मन्त्रालयले जनाएको छ। आवश्यक परे उपलब्ध उपकरण तथा जनशक्ति तत्काल जोखिमयुक्त क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ।

मन्त्री आचार्यले वर्षासँगै बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै प्रदेशवासीलाई सतर्क रहन आग्रह गरेका छन्। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा विपद्को अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उनले आग्रह गरेका छन्।

कोशीमा धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आगामी दिनमा मौसम थप सक्रिय हुने देखिएको छ। प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बिहीबार पनि कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले थप सतर्कता आवश्यक रहेको जनाइएको छ।

महाशाखाले भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलानालामा बाढी र गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ। विशेषगरी सडक तथा यातायात पूर्वाधारमा वर्षाको प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले जोखिमयुक्त सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka