झापा | गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सट गनसहित झापाको दमकबाट २० वर्षीय युवक पक्राउ परेका छन्।
मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका सुमन कर्णलाई प्रहरीले पक्राउ गरेको हो। उनी हाल दमक नगरपालिका–२ स्थित रतुवा पुल नजिकैको अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आन्दोलनका क्रममा लुटिएको सट गन दमक–४ को त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको सूचना प्रहरीले पाएको थियो।
सूचनाका आधारमा कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजी गर्दा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारेर लुकाइएको अवस्थामा सट गन फेला परेको प्रहरीले जनाएको छ।
सट गन कहाँबाट लुटिएको थियो र आन्दोलनका क्रममा उक्त हतियार कर्णको हातमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
