Premier Cables

अन्तराष्ट्रिय शिक्षा

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

‘हामीलाई साङ्ला भनेकोमा धन्यवाद’ भन्दै सीजेपी नेता दिपकेले गरे प्रधानन्यायाधीशलाई कटाक्ष

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०९, २०८३  | साँझ ४:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा जारी युवाहरूको आन्दोलनबीच केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा पठाएका हुन्।

विज्ञापन

शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोज जनता पार्टी’ (सीजेपी) का नेता अभिजित दिपकेले भारतका प्रधानन्यायाधीश सूर्यकान्तप्रति कटाक्ष गर्दै आफूहरूको आन्दोलनको नाम र सुरुवात नै प्रधानन्यायाधीशको विवादास्पद टिप्पणीबाट भएको बताएका छन्।

जन्तरमन्तरमा आन्दोलनकारीलाई सम्बोधन गर्दै दिपकेले भने, “हामीलाई साङ्ला भनेकोमा धन्यवाद।”

“यदि प्रधानन्यायाधीश सूर्यकान्तले हामीलाई साङ्ला नभन्नुभएको भए म भारत आउने थिइनँ। यो आन्दोलन पनि सुरु हुने थिएन,” उनले भने।

सीजेपीको आन्दोलनको सम्बन्ध गत मे १५ मा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ताको पदनामसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले गरेको टिप्पणीसँग जोडिएको छ। त्यस क्रममा उनले रोजगारी नपाएका र कानुनी क्षेत्रमा आफ्नो स्थान बनाउन नसकेका युवाहरूलाई ‘साङ्ला’ र ‘परजीवी’ जस्ता शब्द प्रयोग गरेको भन्दै विवाद भएको थियो।

पछि प्रधानन्यायाधीश कान्तले आफ्नो टिप्पणी बेरोजगार युवालाई लक्षित नभई नक्कली कानुनी डिग्रीधारीप्रति लक्षित रहेको स्पष्ट पारेका थिए। उनले सञ्चारमाध्यमका केही भागले आफ्नो भनाइलाई गलत रूपमा उद्धृत गरेको दाबी गर्दै आएका छन्। तर, उनको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसैबाट प्रेरित भएर सीजेपीको आन्दोलन सुरु भएको दिपकेको दाबी छ।

यसैबीच राजीनामा दिएका शिक्षामन्त्री प्रधानले जन्तरमन्तरमा र देशभर बनेको परिस्थितिको राष्ट्रविरोधी शक्तिले फाइदा उठाउन नसकून् र देशको एकता कायम रहोस् भन्ने विषयमा विचार गर्दै राजीनामा दिएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको राजीनामा पत्रमा प्रधानले आफू चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित रहेको उल्लेख गरेका छन्। सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै सशक्त राष्ट्रको आधारशिला भएको उनको भनाइ छ।

प्रधानले भारतका युवाहरूका आकांक्षा, भावना र उनीहरूका न्यायोचित अपेक्षाको आफूले गहिरो सम्मान गर्ने बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा राष्ट्रसेवा गर्ने अवसर पाएकोमा उनले प्रधानमन्त्रीप्रति आभारसमेत व्यक्त गरेका छन्।

युवाहरू आन्दोलनमा उत्रिनुको मुख्य कारण बनेको नीट–यूजी परीक्षाबारे प्रधानले मे २०२६ मा भएको परीक्षामा अनियमितता देखिएको बताएका छन्। भारत सरकारले त्यसलाई तत्काल संज्ञानमा लिएर अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिएको, परीक्षा रद्द गरेको र पुनः परीक्षा सञ्चालनको मिति घोषणा गरेको उनले उल्लेख गरेका छन्।

आगामी वर्षदेखि नीट परीक्षा कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) प्रणालीमार्फत सञ्चालन गर्ने निर्णयसमेत गरिएको उनले बताएका छन्।

‘पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएको थिएँ र यो परिस्थितिबाट कहिल्यै पन्छिनँ। कुनै पनि मेधावी विद्यार्थीको सम्भावना परीक्षा माफियाका कारण प्रभावित हुन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो संकल्प थियो,’ प्रधानले राजीनामा पत्रमा भनेका छन्।

यस क्रममा केही विद्यार्थीलाई भ्रमित पार्न जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अवरोध सिर्जना गर्ने प्रयास गरेको दाबी पनि उनले गरेका छन्। पछिल्ला १० दिनको घटनाक्रमबाट आफू दुःखी भएको उल्लेख गर्दै उनले भारतको युवाशक्ति नै देशको वास्तविक शक्ति भएको बताएका छन्।

युवाशक्तिलाई भ्रमको चक्रमा फस्न नदिने आफ्नो संकल्प रहेको उल्लेख गर्दै प्रधानले देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नअल्झियोस् र विद्यार्थीले आफ्नो समय पढाइ तथा करिअर निर्माणमा लगाउन पाऊन् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka