विराटनगर । झापाबाट भारततर्फ तरबुजाको बियाँ तस्करी हुने गरेको नयाँ तथ्य खुलेको छ । यसरी तस्करी भएको बियाँ भारतको राजस्तानसम्म पुग्ने गरेको बताइन्छ ।
झापाको भद्रपुरमा भारततर्फ अवैध निकासी गर्ने उद्देश्यले गोदाममा भण्डारण गरिएको तरबुजाको बियाँ प्रहरीले बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको नेतृत्वमा परिचालित ५५ जना प्रहरीको विशेष टोलीले भद्रपुर नगरपालिका–३ ज्ञानेचौकस्थित भीमलाल सुवेदीको घरमा छापा मारेको थियो ।
यस क्रममा ९४८ बोरा बियाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रतिबोरा ४० केजी तौल रहेको बियाँको बजार खुद्रा मूल्य ३४ करोड रुपैयाँभन्दा बढी पर्ने दाबी गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार वीरगन्ज भन्सारबाट कुबेर एक्जिम प्रा.लि.ले वैधानिक रूपमा आयात गरेको यो वस्तु भद्रपुर-५ स्थित महादुर्गा अर्डर सप्लायर्सले अवैध रूपमा भारत पुर्याउन त्यहाँ भण्डारण गरेको आशंका गरिएको छ।
सीमा क्षेत्रमा साना झोलेपोके तस्कर मात्र समातिइरहेका बेला नयाँ सरकार बनेको तीन महिनाको अवधिमा यो अहिलेसम्मकै ठूलो परिमाणको बरामद हो।
तेस्रो मुलुकबाट वैधानिक बाटो हुँदै नेपाल भित्र्याएर भारततर्फ अवैध रूपमा निर्यात गर्ने धन्दा पछिल्लो समय निकै फस्टाएको छ। विशेषगरी सन् २०२३ मा भारत सरकारले तरबुजको बियाँ आयातमा परिमाणात्मक बन्देज लगाएपछि नेपाली व्यवसायीहरू यसको तस्करीमा पल्किएका हुन्।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३ अर्ब ४ करोड ८४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको २० हजार १५४ टन तरबुजको बियाँ नेपाल भित्रिएको छ, जुन विगतका वर्षहरूको तुलनामा अप्रत्याशित रूपमा उच्च हो।
नेपालमा सबैभन्दा बढी अफगानिस्तानबाट ७ हजार १०९ टन, नाइजेरियाबाट ६ हजार ४०६ टन, सुडानबाट ३ हजार ८२७ टन र युएईबाट २ हजार ८१२ टन बियाँ आयात भएको देखिन्छ भने चीन, टर्की, भारत र उज्वेकिस्तानबाट पनि यसको आयात भइरहेको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ९ करोड १३ लाखको ५०२ टन, २०७९/०८० मा २ करोड १४ लाखको १२७ टन र २०७८/०७९ मा २ करोड ३ लाखको ९९ टन मात्र आयात भएको तथ्यांकले यो व्यवसायमा तस्करीको सञ्जाल कति तीव्र रूपमा सक्रिय छ भन्ने पुष्टि गर्छ।
नेपालमा खुद्रा मूल्य प्रतिकेजी ९०० रुपैयाँ पर्ने यो बियाँ भारतमा एक हजार ४०० भारतीय रुपैयाँमा बिक्री हुने भएकाले तस्करहरूका लागि यो आकर्षक माध्यम बनेको छ। झापाको भद्रपुर र कचनाकवल क्षेत्रलाई मुख्य नाका बनाएर भद्रपुरका राजन मगरको टोलीले भारत किसनगञ्जका व्यापारी फुर्दोसका लागि यो बियाँ अवैध रूपमा सीमा पार गराउने गरेको स्रोतको दाबी छ।
कुनै समय सुपारी, पोस्तादाना र हरियो केराउको तस्करीमा संलग्न रहेको समूह नै अहिले तरबुजको बियाँको अवैध कारोबारमा सक्रिय भएको आरोप लागेको छ। भारत तथा अन्य दक्षिण एसियाली मुलुकहरूमा ‘मगजु’ नामले चिनिने यो बियाँको माग अत्यधिक छ। विशेषगरी मासु वा तरकारीको लेदो (ह्वाइट ग्रेभी) बनाउन, मिठाई, गुँदपाक, लड्डू, दालमोठ र विभिन्न खाजामा पौष्टिक तत्वका रूपमा भुटेर यसको व्यापक प्रयोग हुने भएकाले भारतमा प्रतिबन्ध लागेसँगै नेपालको बाटो हुँदै यसको तस्करी फस्टाएको हो।
