विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज विराटनगर आइपुगेका छन्। विराटनगर विमानस्थलमा ओर्लिएलगत्तै उनी सिधै मोरङ जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन तथा भौतिक संरचनाको निरीक्षणका लागि पुगेका हुन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कट्टेलसँग जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र प्रशासनिक सेवा प्रवाहबारे विस्तृत जानकारी लिएका थिए।
जग्गाको सदुपयोग गर्दै एकीकृत सेवामा जोड
कार्यालय परिसरको अवलोकनका क्रममा पर्याप्त जग्गा उपलब्ध रहेको देखेपछि गृहमन्त्री गुरुङले सेवाग्राहीलाई सहज हुने गरी एकीकृत सेवा प्रणाली विकास गर्न निर्देशन दिए।
”मलाई यहाँ यति धेरै जग्गा छ भन्ने पहिचान थिएन, आज प्रत्यक्ष देख्न पाएँ,” गृहमन्त्री गुरुङले भने, “जग्गा पर्याप्त रहेकाले एउटै परिसर वा भवनबाट सबै प्रकारका प्रशासनिक सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउन सके सेवाग्राहीलाई धेरै सहज हुनेछ।”
जिल्ला प्रशासन कार्यालयको निरीक्षण सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ कोशी प्रदेश प्रहरी कार्यालय, रानी प्रस्थान गरेका छन्। त्यहाँ दिवाभोजपछि उनले नेपाल–भारत सीमा नाकाको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रम रहेको छ।


