विराटनगर | २०८३ साल असार १४ र १५ गते सम्पन्न कोशी प्रदेशस्तरीय पौडी प्रतियोगिता अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव श्री बिप्लप घोष को प्रमुख आतिथ्य तथा कोशी प्रदेश पौडी संघका अध्यक्ष श्री डम्बर बहादुर तामाङ को सभापतित्वमा सम्पन्न भएको थियो।
कोशी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा ८३ अंक सहित मोरङ जिल्ला प्रथम, ५७ अंक सहित भोजपुर जिल्ला दोस्रो तथा ५३ अंक सहित झापा जिल्ला तेस्रो हुन सफल भएका छन्। विजेता टोलीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पदक प्रदान गर्दै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
व्यक्तिगततर्फ मोरङका ७ वर्षीय भियान केडिया दुई स्वर्ण पदक जित्दै उदयमान पुरुष खेलाडी घोषित भए भने ताप्लेजुङकी आयशा पौडेल उदयमान महिला खेलाडी घोषित भइन्।
त्यसैगरी झापाका युग आचार्य १० स्वर्ण पदकसहित उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने भोजपुरकी सिसुनबुम राई ९ स्वर्ण पदकसहित उत्कृष्ट महिला खेलाडी घोषित भइन्।
प्रतियोगिताले कोशी प्रदेशमा पौडी खेलको स्तर दिनप्रतिदिन उकासिँदै गएको सन्देश दिएको छ। खेलाडीहरूको उत्साहजनक प्रदर्शन, प्रशिक्षकहरूको अथक मेहनत तथा अभिभावकहरूको सहयोगले प्रदेशमा पौडी खेलको भविष्य अझ उज्ज्वल बन्दै गएको आयोजकले जनाएको छ।
प्रतियोगिताको अनुगमन तथा सुपरिवेक्षण इन्द्रजित राजभण्डारी ले गर्नुभएको थियो।


