विराटनगर । विराटनगरको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम कोर्ने रणनीतिका साथ मेट्रो न्यूरो ट्रमा एण्ड मल्टि एसपेसीलिटी हस्पिटल आक्रामक रुपमा आएको छ ।
यो हस्पिटल विराटनगर–९ हस्पिटल चौकमा छ ।
०७६ सालमा मकालुका नाममा स्थापना भएको यो हस्पिटललाई पूर्वकै महत्वपूर्ण स्वास्थ्य थलो बनाउने उद्देश्यले युवा व्यवसायी गोविन्द लुइँटेलले चर्चित चिकित्सकहरूलाई भित्र्याएका छन् ।
डेढ दशकदेखि विराटनगरमा रहेर सामाजिक, स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका लुइँटेलले हस्पिटलको अध्यक्षमा चर्चित चिकित्सक डा. ज्ञानेन्द्र गिरीलाई जिम्मेवारी दिएका छन् ।
गिरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् । उनी पूर्वाञ्चलको पहिलो कार्डियोलोजी चिकित्सक हुन् । एम्सबाट एमडी गरेका डा. गिरी व्यवस्थापनको क्षेत्रमा कुशल मानिन्छन् ।
हस्पिटलले वरिष्ठ चिकित्सक अभिनारायण घिमिरेलाई पनि भित्र्याएको छ । उनी यौन, छाला र सौन्दर्य चिकित्सका क्षेत्रमा अति नै ख्याती कमाएका चिकित्सक हुन् ।
यस्तै, नसा, हाडजोर्नीका क्षेत्रमा ख्याती प्राप्त डा. प्रदीपकुमार गुप्तालाई पनि हस्पिटलले प्रवेश गराएको छ । यसअघि नै यो हस्पिटलमा कोसी अस्पतालका पूर्व मेसु डा. यज्ञराज खरेल, दिनेश न्यौपाने, धिरज ठाकुर, संजीव मण्डल, उत्तम देव, अभिषेक चौधरी, मनोज रायलगायतलाई प्रवेश गराएर स्वास्थ्य सेवा दिदै आएको छ ।
नयाँ व्यवस्थापनका साथ सुरु भएको हस्पिटलले सोमबार जनहितका लागि आधारभूत ल्याव जाँच निःशुल्क गरेको हस्पिटलका उपाध्यक्ष लुइँटेलले बताए । उनका अनुसार सोमबार १० देखि ४ बजेसम्म भिडियो एक्सरे, ओपीडीलगायत निःशुल्क हुनेछ ।
‘हामी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्न र सबैप्रकारका विरामीलाई एकै थलोमा उपचार गराउने उद्देश्यका साथ एकत्रित भएका छौं’ लुइँटेलले भने, ‘हाम्रो टिमले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छ ।’
विराटनगर स्वास्थ्य हवको रुपमा विकास भइरहेको बेला गुणस्तरीय स्वास्थ्य सेवाको उद्देश्य राखेर काम थालिएको हस्पिटलका अध्यक्ष डा. गिरीले बताए । अत्याधुनिक उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ हस्पिटलले जनहितमा शिविरलगायतका कार्यक्रम गर्ने भएको छ ।


