काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई आगामी अधिवेशन प्रक्रियामा सहभागी गराउन नसकिने स्पष्ट पारेका छन्। यससँगै संस्थापनइतर पक्षले उठाउँदै आएको प्रमुख मागलाई उनले अस्वीकार गरेका छन्।
मंगलबार झापामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई व्यक्तिगत रूपमा सम्मान र माया गर्ने भए पनि पार्टीको आधिकारिक प्रणालीले सदस्यका रूपमा नचिन्ने बताए। उनका अनुसार वडा अधिवेशन सुरु भएपछि अद्यावधिक नभएका सदस्यहरूको नाम प्रतिनिधि छनोट तथा अन्य संगठनात्मक प्रक्रियामा समावेश हुने छैन।
थापाले विगत दशकमा पार्टी संगठन कमजोर बनेको उल्लेख गर्दै अहिले सुधारको अभियान अघि बढाइएको र त्यसलाई अवरुद्ध गर्ने प्रस्ताव स्वीकार नगर्ने बताए। उनले अधिवेशन समयमै र निष्पक्ष ढंगले गराउन आफूहरू तयार रहेको तर वर्तमान कार्यसमितिभित्र अर्को समानान्तर समिति समायोजन गर्ने माग विधान र राजनीतिक दुवै हिसाबले असम्भव रहेको जिकिर गरे।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित संरचनाभित्र थप व्यक्तिलाई समावेश गर्ने प्रस्ताव उचित नभएको भन्दै संस्थापनइतर पक्षलाई यस्ता माग त्याग्न आग्रह गरे। साथै पुराना पुस्ताका नेताहरूले पार्टीबाट धेरै अवसर पाइसकेको उल्लेख गर्दै निरन्तर असन्तुष्टि जनाउनु उपयुक्त नभएको टिप्पणी पनि गरे।
यता कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुने संकेतभन्दा पनि थप जटिल बन्दै गएको देखिएको छ। संस्थापनइतर पक्षका नेता मीन विश्वकर्माले दुवै पक्षबीच संवादको अभावले अन्योल बढाएको बताएका छन्।
उनका अनुसार पार्टीभित्र मेलमिलापको आवश्यकता भए पनि नेतृत्व तहमा पर्याप्त संवाद हुन सकेको छैन। उनले नेताहरूबीच औपचारिक छलफलको सट्टा पत्राचार र सामाजिक सञ्जालमार्फत सन्देश आदानप्रदान भइरहेको भन्दै त्यसले समस्या समाधानमा सहयोग नगरेको टिप्पणी गरे।
विश्वकर्माले संस्थापन पक्षले केही पुराना नेताहरूलाई पार्टीको मूलधारमा समेट्न इच्छुक नदेखिएको आरोपसमेत लगाए। उनका अनुसार सबैलाई समेट्न नसकिने तर्क नेतृत्वबाट आउने गरेको छ, जसले विवाद समाधानको सम्भावनालाई अझ कमजोर बनाएको छ।


