Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बालुवा खानी विवादमा भाजपा नेतासहित तीन जनालाई जलाएर मारियो, चार जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | साँझ ४:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

एजेन्सी । भारतको छत्तीसगढ राज्यस्थित कोरिया जिल्लामा बालुवा खानीसम्बन्धी पुरानो विवादका कारण भारतीय जनता पार्टी (भाजपा) निकट एक नेता तथा उनका दुई आफन्तको विभत्स हत्या भएको छ।

मंगलबार साँझ सोनहत तहसीलको काटगोडी गाउँमा भएको घटनामा पीडितहरू सवार कारलाई योजनाबद्ध रूपमा टिपर ट्रकले ठक्कर दिएर आगजनी गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान तथा फरेन्सिक विज्ञहरूको रिपोर्टअनुसार आरोपितहरूले कारमा इन्धन खन्याएर आगो लगाएका थिए, जसको उद्देश्य पीडितहरूलाई जिउँदै जलाउने रहेको आशंका गरिएको छ।

बिज्ञापन

घटनामा ६० वर्षीय भाजपा नेता भारत सिंहको कारभित्रै जलेर मृत्यु भएको थियो। उनका ५३ वर्षीय भाइ नगेन्द्र सिंह गम्भीर रूपमा जलेका थिए र उपचारका क्रममा अस्पतालमा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ। अर्का आफन्त वीरेन्द्र प्रताप सिंहलाई भने आरोपितहरूले कुटपिट गरी हत्या गरेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विशाल, सत्यकुमार, अक्षय र महेन्दर नामका चार दाजुभाइलाई पक्राउ गरेको छ। उनीहरूमाथि हत्या तथा अन्य फौजदारी अभियोगअन्तर्गत अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा दुई परिवारबीच बालुवा खानीको व्यवसायलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको खुलेको छ। घटना हुनुभन्दा एक दिनअघि पनि दुवै पक्षबीच फोनमा तीव्र भनाभन भएको थियो। सोही विवादले अन्ततः हिंसात्मक रूप लिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

भाजपा स्रोतका अनुसार भारत सिंह सन् १९९५ मा पार्टीको समर्थनमा स्थानीय पञ्चायत सदस्य निर्वाचित भएका थिए। पछिल्ला वर्षहरूमा भने स्वास्थ्य अवस्था र व्यावसायिक व्यस्तताका कारण उनी सक्रिय राजनीतिबाट टाढा थिए।

घटनापछि छत्तीसगढको राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु भएको छ। विपक्षी कांग्रेसले राज्यमा भाजपा नेताहरूको संरक्षणमा अवैध बालुवा उत्खनन भइरहेको दाबी गर्दै यही माफिया समूहबीचको आपसी द्वन्द्वका कारण हत्या भएको आरोप लगाएको छ।

छत्तीसगढ कांग्रेसका अध्यक्ष दीपक बैजले मृतक र आरोपी दुवै पक्ष भाजपा निकट रहेको दाबी गरेका छन्। यद्यपि भाजपाले आरोपितहरू पार्टीको कुनै पनि पदमा नरहेको र उनीहरूको पार्टीसँग कुनै आधिकारिक सम्बन्ध नभएको स्पष्ट पारेको छ।

यसैबीच, छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पनि दोषीलाई उन्मुक्ति नदिइने र कानुनअनुसार कडा सजाय सुनिश्चित गरिने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa