काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले शानदार प्रदर्शन गर्दै तीन गोल गरेका हुन् । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरेका हुन् ।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । उनले विश्वकपमा १६ गोल पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । उनले सन् २०१० को विश्वकपबाहेक पाँच संस्करणमा गोल गरेका छन् ।
चार वर्षअघि कतारमा भएको विश्वकपमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाएका थिए । विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमानसमेत मेस्सीकै नाममा छ । अल्जेरियाविरुद्धको खेलसँगै उनले विश्वकपमा २७औं खेल खेलेका छन् ।
