काठमाडौं । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएका स्वास्थ्य बिमाका सेवा स्थगन गर्ने निर्णय गरेको छ । बोर्डले अर्को निर्णय नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य बिमा सेवा बन्द गर्ने जनाएको हो ।
बोर्डका अनुसार नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजहरूमा मिति २०८३ साल जेठ १६ गतेदेखि आकस्मिकबाहेकका अन्य सेवा स्थगन हुनेछन् ।
“स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवाहरू स्थगन गर्ने निर्णय गरिएको छ,” बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
यो निर्णयसँगै स्वास्थ्य बिमामार्फत निजी अस्पताल तथा मेडिकल कलेजमा उपचार गराउँदै आएका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् ।
बोर्डको यही जेठ ११ गते बसेको बैठकले सेवा स्थगन गर्ने निर्णय गरेको हो ।
