विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा सरकारले सुनिश्चित भइसकेका बहुवर्षीय योजनालाई निर्धारित समयमै सम्पन्न गर्न विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ। योजनाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन कार्यतालिका बनाएर काम अघि बढाइने प्रदेश सरकारले जनाएको छ।
त्यस्तै, प्रदेशभर सडक सञ्जाल विस्तार गर्ने घोषणा पनि सरकारले गरेको छ। सडक तथा पुलहरूको नियमित मर्मतसम्भारका लागि आवश्यक उपकरणसहित प्राविधिक जनशक्ति परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
भौतिक संरचनाको गुणस्तर परीक्षणका लागि मनमोहन प्राविधिक विश्वविद्यालय को प्रयोगशालालाई उपयोग गरिने सरकारको योजना रहेको छ। साथै निर्माण कार्यमा स्वदेशी सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने प्रदेश प्रमुख खापुङले बताएका छन्।
