विराटनगर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले गरेका सकारात्मक कामलाई समर्थन गर्ने तर गलत निर्णय भए त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन्।
कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले राम्रो काममा साथ दिने तर कमजोरी देखिए विरोध र खबरदारी गर्ने स्पष्ट पारे। “सरकारले राम्रो गर्यो भने समर्थन गर्छौं, तर गलत गर्यो भने विरोध मात्रै होइन, आवश्यक परे संघर्षमै उत्रिन्छौं,” उनले भने।
थापाले पार्टीका कार्यकर्तालाई हारबाट निराश नहुन आग्रह गर्दै अब संयमित भएर अघि बढ्नुपर्ने बताए। पुराना र नयाँ पुस्तालाई सँगै समेट्दै कांग्रेसलाई सुदृढ बनाउने लक्ष्य रहेको उनको भनाइ थियो। “अनुभव र ऊर्जा दुवैको समिश्रणबाट मात्रै बलियो संगठन बन्छ,” उनले जोड दिए।
कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गराउँदै उनले राणा र पञ्चायतविरुद्ध लडेको अनुभवलाई पनि सँगै लिएर अघि बढ्ने आवश्यकता औंल्याए। साथै, विभिन्न तहका नेता, पेशाकर्मी र फरक उमेर समूहसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
क्रियाशील सदस्यताबारे कुनै भ्रम नराख्न आग्रह गर्दै उनले विदेशमा रहेका सदस्यहरूले पनि आफ्नो स्थानबाटै नवीकरण गर्न सक्ने बताए। नजिक रहेका सदस्यलाई भने वडास्तरमै पुगेर सदस्यता नवीकरण गर्न उनले अनुरोध गरे। “कांग्रेसलाई डिजिटल रूपमा सुदृढ बनाउने अभियान सुरु गरिएको हो,” उनले स्पष्ट पारे।
आगामी दिनमा केन्द्रीय समिति पूर्णता दिँदै महाधिवेशनतर्फ अघि बढ्ने तयारी भइरहेको उल्लेख गर्दै थापाले पार्टी सबैको साझा जिम्मेवारी भएको बताए। उनले विगतमा टाढिएका मतदातालाई पुनः विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “नयाँ र पुराना सबै पुस्तालाई साथमा लिएर कांग्रेसलाई पुनः संगठित बनाउँछौं,” उनले भने।
