Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय सभा चुनावमा गठबन्धन र उमेदवार छनोटबारे गगन थापाको असहमति

Calendar बुधबार, पुष २३, २०८२  | अपराह्न १:२४ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा एमालेसँगको गठबन्धन र उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाएका छन्। सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयमा उनले लिखित फरक मत राखेका हुन्।

उम्मेदवार छनोटका क्रममा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको भूमिकालाई बेवास्ता गरिएको भन्दै आफूले निर्णयप्रति आपत्ति जनाएको थापाले बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो, यसले केन्द्रीय समिति र संसदीय बोर्ड दुवैको मानमर्दन गरेको छ। त्यसैले महामन्त्रीको हैसियतले मैले लिखित फरक मत राखेको हुँ।”

बिज्ञापन

उनका अनुसार उम्मेदवार चयनको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने मंगलबारको निर्णयप्रति आपत्ति जनाएपछि बुधबार पुनः बैठक बोलाइएको थियो। “हिजो उम्मेदवार चयनको सबै जिम्मेवारी सभापतिलाई दिने निर्णय भयो। केन्द्रीय समिति र संसदीय बोर्ड हुँदाहुँदै त्यति टाढासम्म जानु हुँदैन भन्ने मेरो आपत्ति थियो,” थापाले भने, “त्यही कारण आज बैठक बसेको हो। तर आजको बैठकमा नाम प्रस्ताव नै बाँकी छ, पारित हुन बाँकी छ, तर उम्मेदवारहरू भने मनोनयन पत्र बोकेर आ–आफ्नो जिल्लातर्फ गइसकेका छन्।”

महामन्त्री थापाले कार्यसम्पादन समितिको निर्णयको स्वामित्व आफूले नलिने स्पष्ट पारे। “तालमेल गर्ने भनिएको छ, तर त्यसका लागि दिइएका आधारहरू केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गम्भीर र तर्कपूर्ण छलफलबाट आएका होइनन्,” उनले भने, “त्यसैले यो निर्णयको स्वामित्व हामी लिँदैनौं।”

उनले एमालेसँग तालमेल गर्नुको सैद्धान्तिक आधारसमेत स्पष्ट नभएको बताए। साथै, महत्त्वपूर्ण निर्णयहरू गर्दा महामन्त्रीलाई समेत जानकारी नदिई केही व्यक्तिहरूले घेराबन्दीको प्रयास गरेको उनको आरोप छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka