Premier Cables

खेलकुद विराटनगर

विराट गोल्डकप फाइनल आज: झापा-११ र सम्राट स्पोर्टिङबीच उपाधि भिडन्त

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख ०५, २०८३  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पूर्वविजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब आज (शनिबार) आमनेसामने हुँदैछन्। खेल विराटनगरस्थित सहिद रंगशालामा साँझ ७ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।

फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दृढ संकल्प व्यक्त गरे। सम्राट स्पोर्टिङले उपाधि जिते प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ भने झापा–११ ले यसअघि नै उपाधि जितिसकेको अनुभव बोक्दै मैदान उत्रनेछ।

विज्ञापन

घरेलु मैदान र समर्थकको साथ पाएको सम्राट स्पोर्टिङ पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्ने लक्ष्यमा छ। झापा–११ ले भने २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि आर्मी र नेपाल पुलिस क्लबजस्ता बलिया विभागीय टोलीलाई हराउँदै फाइनल पुगेकाले झापा आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ।

पूर्व फिफा रेफ्री किरण गिरीको नेतृत्वमा रहेको सम्राट स्पोर्टिङले क्वाटरफाइनलमा भारतको बिर्सामुण्डा स्पोर्टस् एकेडेमी र सेमिफाइनलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई समान ३–१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो।

कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरे पनि रणनीतिबारे खुलाउन चाहेनन्। सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र समर्थकलाई आफ्नो मुख्य बलका रूपमा प्रस्तुत गर्दै टोलीबीचको तालमेल नै सफलता नजिक पुर्‍याएको बताए। “पहिलो सहभागितामै फाइनल पुग्नु ठूलो उपलब्धि हो। झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडी प्राविधिक रूपमा बलिया छन्। घरेलु मैदानमै इतिहास रच्ने लक्ष्यमा छौं,” उनले भने।

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका फिनिसिङका कमजोरी सुधार्दै फाइनल खेल्ने बताए। अनुभवी खवासले विभिन्न क्लबबाट कप्तानी गर्दै धेरै गोल्डकप जिताइसकेका छन्।

उता झापा–११ का प्रशिक्षक गणेश खड्काले खेलाडीका रूपमा जितेको उपाधि प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउने लक्ष्य राखेको बताए। “म आफैंले यही मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ, अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्‍याउन चाहन्छु,” उनले भने। उनले आफ्नो टोलीमा तीन विदेशी खेलाडी रहेको र सम्राटलाई कमजोर नआँकेको उल्लेख गर्दै प्रतिस्पर्धा रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka