नयाँदिल्ली । इरानका विदेशमन्त्री अब्बास अराघचीले “युद्धविरामको बाँकी अवधिसम्म” होर्मुज जलडमरूमध्यलाई व्यापारका लागि पूर्ण रूपमा खुला राख्ने घोषणा गरेपछि कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ।
यसैबीच, अमेरिका र युरोपका सेयर बजारमा भने वृद्धि देखिएको छ।
घोषणापछि ब्रेन्ट क्रूडको मूल्य घटेर प्रति ब्यारेल ९० डलरभन्दा तल झरेको छ, जबकि दिनको सुरुवातमा यो ९८ डलरभन्दा माथि थियो।
अमेरिकी मानक एनवाईएमईएक्स लाइट स्वीट क्रूडमा पनि उल्लेखनीय गिरावट देखिएको छ।
संघर्ष सुरु हुनुअघि ब्रेन्ट क्रूडको मूल्य करिब ७० डलर प्रति ब्यारेलभन्दा तल थियो। मार्चको सुरुवातमा यो १०० डलरभन्दा माथि पुगेको थियो र त्यही महिनाको अन्त्यतिर ११९ डलर प्रति ब्यारेलभन्दा बढी पुगेको थियो।
सेयर बजारतर्फ हेर्दा, पेरिसको सिएसी र फ्रान्कफर्टको डिएएक्स दुवै २ प्रतिशतभन्दा बढीले बढेका छन्। लन्डनको एफआईएसई भने तुलनात्मक रूपमा कम बढ्दै ०.५ प्रतिशतले मात्र माथि उक्लिएको छ।
अमेरिकामा कारोबार सुरु भएको केही मिनेटमै डाउ १.३ प्रतिशत र S&P ०.७ प्रतिशतले बढेको छ।
