नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जना व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सुन तस्करसँगको मिलेमतोमा भन्सारका कर्मचारी तथा उच्च पदाधिकारीहरूलाई प्रभावमा पार्दै ठूलो मात्रामा राजस्व चुहावट गरिएको र अवैध सम्पत्ति आर्जन गरिएको आरोप छ।
अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट आएको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोंगले दुई वटा सुटकेसभित्र विद्युतीय चुरोटजस्तो देखिने सामानमा सुन लुकाई ल्याएका थिए। प्रारम्भिक एक्स-रे परीक्षणमा शंका देखिए पनि आवश्यक कडाइ नगरी सामग्री जफत गरिएको पाइएको छ।
जफत गरिएको सामान नियमानुसार गोदाममा नराखी कार्यालय प्रमुखको कार्यकक्षमै राखिएको, पछि मिलेमतोमा साटफेर गरी सुन निकालेर खाली वस्तु राखिएको अनुसन्धानबाट खुलेको छ। बाहिर लगिएका केही सामग्री परीक्षण गर्दा उच्च शुद्धताको सुन भएको पुष्टि भएको थियो।
आयोगले पूर्व सभामुख महराले आफ्ना छोरा राहुलमार्फत विदेशी नागरिकहरूसँग समन्वय गर्दै भन्सार अधिकारीहरूलाई प्रभावमा पारेर सुन गैरकानुनी रूपमा बाहिर निकाल्ने प्रयास गरेको आरोप लगाएको छ। यसका लागि पटक–पटक भेटघाट र सम्पर्क गरिएको पनि उल्लेख गरिएको छ।
अनुसन्धानअनुसार उक्त सुन विभिन्न व्यापारीमार्फत बिक्री गरिएको र प्राप्त रकम विभिन्न व्यक्तिको नाममा राखी सम्पत्ति रूपान्तरण गरिएको पाइएको छ। आयोगले ८ हजार ४८० ग्रामभन्दा बढी सुन हिनामिना गरी करिब ७ करोड ७८ लाख रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेको छ।
यस प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित विभिन्न भन्सार कर्मचारी, पूर्व सभामुख महरा, उनका छोरा राहुल महरा, अन्य नेपाली तथा विदेशी नागरिक र डेक्सटर ट्राभल्स एण्ड टूर्सविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।


