विराटनगर । कोसी प्रदेशसभाको सोमबार (चैत २३) बसेको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा (एमाले)की सांसद सिर्जना राईले सामाजिक सञ्जालमा महिलामाथि बढ्दो साइबर बुलिङप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरिन् । महिलाविरुद्ध हिंसात्मक र आपत्तिजनक भाषा प्रयोग भइरहेको उल्लेख गर्दै उनले सरकार निष्क्रिय रहेको आरोप लगाइन् ।
साथै, साइबर ब्युरोमा उजुरी दिँदा समेत पीडितमा न्याय पाउने/नपाउने अन्योल र मानसिक तनाव देखिने उनले बताइन् । राईले आपत्तिजनक सामग्री स्वतः हटाउने एआई प्रणाली विकास र साइबर अपराधी पहिचानका लागि दक्ष जनशक्ति परिचालन गरी प्रभावकारी निगरानी गर्नुपर्नेमा जोड दिइन् ।
नेकपाकी प्रदेश सांसद सपना दर्जीले नागरिकता अभावका कारण सामाजिक असमानता बढ्दै गएको बताइन् । आमाको नामबाट नागरिकता लिँदा झन्झटिलो प्रक्रिया झेल्नुपर्ने समस्या अझै कायम रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका सांसद गयानन्द मण्डलले कृषि क्षेत्र सुधारका लागि जैविक खेतीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले सिँचाइको उचित व्यवस्था, किसानलाई विद्युत् महशुलमा सहुलियत तथा जैविक मल उत्पादनका लागि तालिम उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।
