विराटनगर । रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सुरु भए पनि समय अभावका कारण पूरा हुन नसकेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि निरन्तरता दिइएको हो।
यसअघि अघिल्लो सरकारको कार्यकालमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा अघि नबढाउने तथा फिर्ता लिने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको उक्त निर्णय कानुनको शासन र न्यायको सिद्धान्तविपरीत भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले मुद्दाको संवेदनशीलता ध्यानमा राख्दै नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो। आजको सुनुवाइबाट लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारी निर्णय कानुनी रूपमा उचित थियो वा थिएन भन्ने विषयमा महत्त्वपूर्ण व्याख्या आउने अपेक्षा गरिएको छ।
सहकारी ठगी प्रकरणसँग जोडिएका आरोपसम्बन्धी सरकारी निर्णय बदर भएमा लामिछानेमाथि पुनः कानुनी अनुसन्धानको प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ।
