निर्वाचन आचारसंहिताको विषयमा मोरङ प्रशासनले आयोजना गरेको छलफल कार्यक्रम
विराटनगर । मोरङ जिल्लामा ४७ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ। सुरक्षा निकायले गरेको अध्ययनअनुसार १२५ स्थललाई संवेदनशील र १३४ स्थललाई सामान्य सूचीमा राखिएको छ।
अति घनाबस्ती रहेका मतदान स्थलहरूमा सोहीअनुसार उच्च सतर्कता र कडा निगरानी व्यवस्था गरिने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन सुरक्षा रणनीतिअनुसार मतदान स्थलको सुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
एसपी कटुवालले मोरङमा निर्वाचन लक्षित सुरक्षा निगरानीलाई थप सुदृढ बनाइएको पनि बताए। उनका अनुसार जिल्लाका विभिन्न २१ स्थानमा चेकपोइन्ट स्थापना गरी प्रहरीले चेकजाँचलाई तीव्र बनाएको छ। साथै, निर्वाचनमा खटिने प्रहरीको तालिमसमेत सम्पन्न भइसकेको छ।
