






विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको पेशी हेर्दाहेर्दैमा परेको छ ।
मंगलबार रवि र छविको निवेदन उपर सुनुवाइ शुरु भएको थियो । रविका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । त्यसपछि बहस टुंगियो । अब छविलालका वकिल र सरकारी पक्षको बहस हुने छ ।
सुप्रिम सहकारी ठगीबारे उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र पूर्वडीआईजी जोशीको निवेदन हेर्न मिल्ने इजलासमा परेको थियो ।
यो निवेदन सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको बहस भएको हो ।
सुप्रिम सहकारी ठगीबारे उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध रवि र छवि दुवैले ७३ नम्बर निवेदन हालेका छन् । यस्तै, रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले अघिल्लो हप्ताको मंगलबार नै बन्दीप्रत्यक्षीकरणको निवेदन हालेकी थिइन् । बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले लगाउमा राख्ने आदेशपछि दुवै निवेदन एकसाथ राखिएको छ ।
अघिल्लो आइतबारदेखि नै सुनुवाइ सरिरहेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका थिए । फेरि उच्च अदालतको आदेशबाट थुनामा छन् ।
सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।