आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चुनावी तयारी तीव्र र व्यवस्थित रूपमा अघि बढाइएको छ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारीसँगै झापामा चुनावी सरगर्मी बढेको छ।
बालेनको निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन झापाका तीन फरक स्थानमा चुनावी सचिवालय स्थापना गरिएको छ। मुख्य सचिवालय दमकस्थित रास्वपा नेता लक्की सिटौलाको निवासमा राखिएको छ। अन्य दुई सचिवालय इलाका प्रहरी कार्यालय नजिक र दमक क्याम्पस मोड क्षेत्रमा सञ्चालनमा आउने रास्वपा झापाका सभापति प्रकाश पाठकले जानकारी दिए।
निर्वाचन व्यवस्थापनको समन्वय र नियन्त्रणका लागि रास्वपा क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा मूल सचिवालयले कमान्ड सम्हाल्ने निर्णय गरिएको छ।
आर्थिक परिचालन, युवा परिचालनलगायतका विभिन्न उपसमितिहरू गठन भइसकेका छन्। साथै, जिल्ला स्तरमा ‘र्यापिड एक्सन टिम’ (र्याट) निर्माण गरिएको र प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक जना कमान्डर तोक्ने तयारी गरिएको छ।
दमकमा बालेनका लागि ‘थ्री–लेयर’ अवधारणामा सचिवालय सञ्चालन गर्ने तयारी गरिएको छ। पहिलो घरमा राजनीतिक तथा डिजिटल टिम रहनेछ, जहाँ सामाजिक सञ्जाल व्यवस्थापन र कन्टेन्ट उत्पादनका लागि करिब १५ जनाको विशेष टोली रहनेछ।
दोस्रो घरमा बालेन स्वयं रहने र त्यहींबाट राजनीतिक भेटघाट तथा रणनीतिक निर्णयहरू लिइनेछ। तेस्रो घरबाट भने रास्वपाका स्थानीय तथा केन्द्रीय नेताहरूको समन्वय, मतदाता सर्वेक्षण र गोप्य रणनीति कार्यान्वयन गरिने बताइएको छ।
सुरुवाती चरणमा दमक क्याम्पस मोड र गोर्खा किचन आसपासका क्षेत्रमा घर खोजिएको थियो। केही स्थानीयले निःशुल्क घर उपलब्ध गराउने प्रस्ताव गरे पनि सुरक्षा र पहुँचलाई ध्यानमा राख्दै अन्तिम स्थान छनोट गरिएको हो।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुँदैछ। रास्वपाले बालेनको मनोनयन दर्तालाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्ने रणनीति बनाएको छ। औपचारिक भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। यस क्रममा दमक, कमल, गौरादह र गौरीगञ्जका विभिन्न समुदायका सांस्कृतिक झाँकी, धिमाल, राई, लिम्बू, सन्थाल र पञ्चेबाजा प्रस्तुत गरिने तयारी छ।
दमक क्षेत्रमा रास्वपाका करिब ३ हजार संगठित सदस्य रहेका छन्, जसलाई मनोनयनका दिन सडकमा उतार्ने योजना बनाइएको छ। यसबाहेक बालेनका शुभेच्छुक र ‘जेन–जी’ युवाको ठूलो उपस्थिति रहने अनुमान गरिएको छ।
बालेनको आगमन र सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। सुरक्षा अवस्थाको मूल्यांकन र भावी तयारीका लागि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपाले निर्वाचन परिचालनलाई समावेशी र व्यवस्थित बनाउन थप उपसमितिहरू विस्तार गर्ने क्रम जारी राखेको जनाएको छ।
