प्रतिकात्मक तस्बिर
विराटनगर । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ । उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ । बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
