झापा । १३ औँ राष्ट्रिय पोल्ट्री दिवस बिहीबार झापामा पोषण प्रवर्द्धन, जनचेतना र किसान–विद्यालय सहकार्यलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ ।
दिवसको अवसरमा जिल्लाका कुखुरा पालक किसानहरूले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र अस्पतालमा उपचाररत बिरामीलाई प्रोटिनयुक्त अण्डाको खाजा खुवाउँदै अण्डाको पोषणीय महत्वबारे सन्देश दिएका छन् ।
शिवसताक्षी नगरपालिकाभित्रका विद्यालयमा किसान स्वयं पुगेर विद्यार्थीलाई अण्डा वितरण गरिएको हो । साथै, भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पनि बिरामीलाई उसिनेको अण्डा खुवाइएको छ ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घ, झापा शाखाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा कुखुराजन्य व्यवसायमा संलग्न किसानहरू विद्यालय–विद्यालयमा पुगेर कार्यक्रममा सहभागी भएका थिए । शिवसताक्षीस्थित भगवती माध्यमिक विद्यालय, चेतना माध्यमिक विद्यालय र हाम्रो मन्टेस्वरीका करिब दुई हजार बालबालिकाले अण्डाको खाजा पाएका छन् ।
कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय उपसचिव विवेक निरौलाले अण्डा सस्तो, सुलभ र उच्च गुणस्तरको प्रोटिन स्रोत भएकाले मानवको मानसिक तथा शारीरिक विकासका लागि नियमित सेवन आवश्यक रहेको बताए । उनले राज्यले पनि अण्डालाई प्रोटिनयुक्त खाद्यवस्तुको रूपमा प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
यद्यपि, उत्सवको वातावरणसँगै झापामा कुखुरा पालक किसानको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ । चार वर्षअघि १३५ जना सक्रिय किसान रहेको जिल्लामा हाल यो संख्या घटेर ४२ मा सीमित भएको छ । दैनिक करिब २५ सय कार्टुन अण्डा उत्पादन हुने झापामा उत्पादन घटेर हाल करिब ७ सय कार्टुनमा झरेको किसानहरूको भनाइ छ ।
उत्पादन लागत वृद्धि, कच्चा पदार्थमा लाग्ने भन्सार, बजार व्यवस्थापनको अभाव र राज्यको पर्याप्त सहुलियत नपाएकै कारण किसान व्यवसाय छोड्न बाध्य भएको उनीहरूको गुनासो छ ।
राष्ट्रिय पोल्ट्री दिवसलाई केवल उत्सवमा सीमित नराखी किसान संरक्षण, उत्पादन वृद्धि र नागरिकको पोषणस्तर सुधारतर्फ केन्द्रित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

