Premier Cables
Premier Steel

अर्थ

फेरि बढ्यो अन्डाको मूल्य

Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न ३:२२ बजे

चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए ।

नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ । त्यसानुसार ठूलो (एक्सएल) अन्डा प्रतिक्रेट (३० वटा)को ५८०, ठूलो अन्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ ।

बिज्ञापन

गएको साउनमा यसअघि हालसम्मकै सबैभन्दा बढी ठूलो अन्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुर्‍याइएको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झारिएको थियो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढाइएको हो । उनका अनुसार, भारतीय अन्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अन्डाले लागत मूल्य पाएको हो ।

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अन्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अन्डा नेपाल भित्रन नपाएको उनले बताए ।

उनले भने, “भारतीय सीमानाकामा कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ ।

संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार, भारतमा समेत अन्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अन्डा भित्र्याउने प्रयास समेत कम भएको उनले बताए ।

अन्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अन्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाउने उनले बताए ।

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं संघको अन्डाको बजारीकरण अभियानमा लागिरहेका राजेन्द्र लामिछाने जाडो महिनामा यसको खपत बढ्ने बताउँछन् ।

हाल नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अन्डा उत्पादन हुने गरेको अनुमान छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka