काठमाडौं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनका लागि सबै तयारी पूरा भएको जनाएको छ। पार्टीले इतिहासमै पहिलो पटक कलात्मक शैलीमा मन्च निर्माण गरिएको बताएको छ।
शुक्रबार (मंसिर २६) भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन समारोहमा करिब तीन लाख मानिसको उपस्थिति रहने अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार १०८ रोपनी क्षेत्रफलमा तयार गरिएको चौरमा भव्य समारोह हुने छ।
वर्तमान संविधानलाई चुनौती दिने केही शक्ति सक्रिय रहेको दाबी गर्दै उनले ११औँ महाधिवेशनबाट त्यसबारे ‘निर्णायक’ सन्देश दिने तयारी रहेको उल्लेख गरे।
यसैबीच, महाधिवेशनका निर्वाचन प्रक्रियामा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने र १० मेसिन ब्याकअपका रूपमा राखिने भएको छ।
बिहीबार यसको प्रयोगका लागि पार्टीले सम्झौता गरेको थियो। निर्माणकर्ता लक्ष्मण रिमालका अनुसार प्रशिक्षणका लागि केही मेसिन अहिले च्यासलस्थित एमाले कार्यालयमा राखिएका छन्।
एमालेको ११औँ महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ।
