विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा भव्य रूपमा ‘१५ औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ सुरु भएको छ । कोशी प्रदेशकै प्रतिष्ठित मानिने यस विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले शुक्रबार औपचारिक उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न स्पोट्र्स मिटले ठूलो भूमिका खेल्ने बताए । “विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ, प्याब्सनले यसलाई अभियानकै रूपमा अघि बढाएको छ,” अधिकारीले भने । कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रमुख सल्लाहकार डी.के. ढुगांना, पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीलगायत शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार मंसिर २१ गतेसम्म चल्ने यस प्रतियोगितामा जिल्लाभरका २३५ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् । खेल तालिकाको चापलाई मध्यनजर गर्दै फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू भने उद्घाटन अगावै सुरु गरिएको छ ।
प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन् । खेलहरू विराटनगरस्थित सहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन भइरहेका छन् । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताले मोरङको शैक्षिक क्षेत्रमा खेलकुदको महत्व स्थापित गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको खेल संयोजक विष्णु डंगोलले जानकारी दिए । सो रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ । तीन दिनसम्म चल्ने यस खेलकुद मेलाको अवलोकन गर्न अभिभावक, विद्यार्थी र खेलप्रेमी गरी करिब १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
