काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४५७.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार अब विस्तारै विस्तारै बढ्न थालेको छ । बजारमा ठूला पूँजी भएका कम्पनीहरु लामो समयसम्म चल्न सकिरहेका थिएनन् ।
अब फन्डामेन्टल्ली रुपमा बलिया कम्पनीहरु पनि विस्तारै चल्न लागेका छन् । तर अझै बजार बेस रेटमै छ । अहिले लाभांश घोषणको सिजन भएका कारण पनि बजार बढ्न सर्पोट गरिरहेको छ । राजनीतिक पाटो पनि अहिले त्यस्तो नकारात्मक देखिदैन । लगानीकर्ताहरुलाई सहज रुपमा लगानी गर्ने वातावरण बनेको छ । मार्केटका लागि सहज हुने देखिन्छ ।’
त्यस्तै, बजार जानकार सुवाष भट्टराई भन्छन्, ‘लामो समयसम्म सेयरबजारलाई राजनीतिक पक्षले प्रत्यक्ष प्रभाव पारेको थियो । पूँजीबजारलाई राजनीतिले नै गाइड गर्ने भएकाले केही समयदेखि राजनीतिक अवस्था राम्रो नहुँदा बजार घटेर तल्लो विन्दुमा आइसकेको थियो । तर अहिले केही हदसम्म राजनीतिक अवस्था राम्रो हुन थालेको छ । पार्टीगत आन्दोलनहरुले नेपालको अर्थतन्त्रमा प्रभाव नपारेपछि सेयरबजारले लय समात्न थालेको छ । अब राजनीतिक पक्ष राम्रो हुँदै गएमा सेयरबजार पनि बढ्दै जाने देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज होटल बीमा समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, फाइनान्स ०.०२, हाईड्रो ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशतले बढे ।
व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३३ प्रतिशतले घट्यो ।
यस्तै विकास बैंक समूह ०.२४, जीवन बीमा ०.३० र म्युचुअल फण्ड ०.३४ प्रतिशतले घट्यो ।

