Premier Cables
Premier Steel

समाचार

अन्जला कोइरालाद्वारा १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी अदालतमा पेश

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, मंसिर ०१, २०८२  | साँझ ६:१७ बजे

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा संलग्न भएकी पूर्व सार्वजनिक लेखा समितिकी सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालाले १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाएकी छिन्।

जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो भने, उच्च अदालत विराटनगरले सो आदेश उल्ट्याउँदै धरौटी रकम १ करोडमा बढाएको हो। उक्त आदेशअनुसार कोइरालाले बैंक ग्यारेन्टी पेश गरेकी हुन्।

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले भदौ ५ गते कोइरालासहित चार जनालाई जनही १–१ करोड रुपैयाँ धरौटी तोकेको थियो। सो आदेशपछि १९ दिनमा, भदौ २३ गते, कोइरालाले प्रभु बैंकमार्फत जारी भएको बैंक ग्यारेन्टी जिल्ला अदालत मोरङमा बुझाइन्।

उच्च अदालतले सन्तलाल खवास, ज्योति बास्कोटा तथा पुर्पक्ष थुनामा रहेका रोशन राजवंशीलाई पनि समान धरौटी तोकेको थियो। तर कोइरालाबाहेक अन्य प्रतिवादीले अझै रकम बुझाएका छैनन् भन्ने जानकारी जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिए। उनका अनुसार उनीहरूको तारेख मंसिर १७ गते तोकिएको छ।
बुढाथोकीले भने, “तारेखमा उपस्थित हुँदा अदालतले तोकेको रकम माग गरिन्छ, बुझाउन नसके प्रतिवादीलाई कारागार चलान गरिनेछ।”

यसअघि जिल्ला अदालतले पुस २४ गते कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको र न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी तथा केशवप्रसाद बास्तोलाको इजलासमा राय फरक परेपछि मुद्दा तेस्रो न्यायाधीश अर्यालको इजलासमा पुगेको थियो। त्यसपछि धरौटी बढाएर १ करोड तोक्ने निर्णय भएको हो।

उमागौरी सहकारीमा आवद्ध करिब ८ हजार ८ सय ४२ जना सर्वसाधारणका निक्षेपबाट २४ करोडभन्दा बढी ऋण देखाई २२ करोड ४८ लाख रुपैयाँ हिनामिना गरिएको आरोप छ। गत मंसिर २७ गते कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो। सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथानका पूर्व वडाध्यक्ष रोशन राजवंशी भने पहिलेबाटै पुर्पक्षका लागि थुनामा रहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka