बिर्तामोड । एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ रहेको थियो ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख तीन हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको हो ।
त्यस्तै, पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
त्यस्तै, क्वार्टर फाइनलका चार खेलमा टिकट बिक्रीबाट ११ लाख ४४ हजार ४०० रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । उद्घाटन खेलको दिन दुई लाख ८८ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा दर्शकको उपस्थिति बाक्लो रहेको थियो । खेल हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकको उपस्थिति रहेको थियो ।
महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताए ।
अध्यक्ष थोप्राले भने, ‘दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ । महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।’
कात्तिक ३४ गते सम्पन्न प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरुमा साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।
त्यस्तै, सेमिफाइनलका दुई खेलमा साधारणतर्फ २ सय र ३ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ तथा फाइनलमा साधारणतर्फ ३ सय र ५ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।
प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो । एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पार्यो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

