Premier Cables
Premier Steel

कोशी प्रदेश

इलामको राजदुवालीमा ‘दैवीशक्ति भएको शिला’ फेला पारेकी भाइरल माता प्रमिला को हुन्?

Calendar आइतबार, कार्तिक २३, २०८२  | बिहान १०:१७ बजे

विराटनगर । हालैको बाढीपहिरोले अवरुद्ध बनेको इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड मर्मतपछि यातायात फेरि सुचारु भएको छ। तर सडक खुल्नुभन्दा पनि अहिले राजदुवाली फरक कारणले देशभर चर्चा र सामाजिक सञ्जालको ट्रेन्डमा छ।

गत केही दिनयता यहाँ ‘दैवीशक्ति भएको शिला’ भेटिएको दाबी गर्ने एक युवती— प्रमिला कार्की— र उनका अनुयायी, धामी–झाँक्री तथा युट्युबरहरूको भिडले यो स्थानलाई धार्मिक तीर्थजस्तो बनाएको छ। टिकटक, युट्युब र फेसबुकमा समर्थन र विरोधका भिडिओहरूले जुहारी नै मच्चाएका छन्।

बिज्ञापन

सपना र शिला फेला परेको कथा

इलाम नगरपालिका–४ धारापानीकी २३ वर्षीया प्रमिला कार्कीले एक रात सपना देखिन्— “दैवीशक्ति भएका पाँच वटा शिला एउटै ठाउँमा लुकेका छन् र तिनीहरू उपेक्षित छन्।”

त्यसपछि गाउँलेहरू भेला भई उनले देखाएको ठाउँ खन्न थाले। रूखको जरामुनि साँच्चै पाँचवटा ढुंगा भेटिए, जसलाई ‘पञ्चकन्या शिला’ भनियो। त्यसपछि पूजा सुरु भयो र फेसबुक–टिकटकमा लाइभ भिडियो भाइरल बन्यो।

स्नातक तहमा अध्ययनरत प्रमिला एकाएक ‘माता’ का रूपमा चर्चामा आइन्। उनका मन्त्रोच्चारण र ‘दैवी प्रवेश’ भएका भिडियोहरूले लाखौँ भ्युज पाए। त्यसपछि देश–विदेशका धामी–झाँक्रीहरू समेत राजदुवाली आइपुगे।

भारतको राङ्बाङबाट आएका मणीकुमार मुखियाले “देउताको अपमान भएकाले माताले सपना देखिन्” भन्दै आफू शिवको अवतार लिएर इलाम आएको दाबी गरे। झापा धरमपुरका खगेन्द्र आचार्यले पनि त्यहाँ धार्मिक शक्ति रहेको बताएका छन्।

को हुन् माता प्रमिला?

प्रमिला कार्की सामान्य कृषक परिवारकी हुन्। उनका गुरु भारत आसामका सुभाष गुरुङ हुन्, जसले उनलाई “देउले जे आदेश दिन्छन्, त्यही मान्नु” भनेर निर्देशन दिएका रहेछन्।

दुई वर्षअघि बिरामी परेपछि उनलाई शरीर काप्ने, मन्त्र बोल्ने, बेसुरमा बरराउने जस्ता लक्षण देखिएका थिए। अस्पतालमा उपचारपछि पनि समस्या नठिकेपछि परिवारले झारफुकका लागि आसामका सुभाष गुरुसँग लगेका थिए। त्यहाँबाट फर्किएपछि उनले आफूमा ‘दैवीशक्ति’ आएको विश्वास गर्न थालेकी थिइन्।

इलामका पत्रकार युनिक मनिषसँग कुरा गर्दै प्रमिलाले भनिन्,

“मैले देखेको सपना अनुसारै शिला भेटियो। म आस्थाबाट मात्र गर्छु, रहरले होइन। म विद्यार्थी हुँ, यो मेरो पेशा होइन।”

उनले थपिन्, “अब स्थानीयले विधिवत् पूजा गर्नुपर्छ। म भन्दा ठूला झाँक्री वा माता बोलाएर संरक्षण होस्। यो साझा सम्पत्ति हो।”

प्रमिलाले भेटिएका पाँच शिलामध्ये एउटा घरमा लैजाने प्रयास गरेकी थिइन्, तर अर्को दिन एक्साभेटर प्रयोग गरी उत्खनन् गर्दा सर्प भेटिएपछि स्थानीयले विरोध गरे। त्यसपछि विवाद चर्कियो।

इलाम नगरपालिकाका मेयर केदार थापा तत्कालै घटनास्थल पुगे। उनले स्थानीयलाई विवाद नगरी आपसमा छलफल गरी निर्णय गर्न आग्रह गरे।

“शिला कहाँ स्थापना गर्ने भन्ने विषयमा सहमति गरेर अघि बढ्नुपर्छ,” मेयर थापाले भने।

यसबीच, शिलामाथि हिँड्ने र मातासँग धक्का–मुक्का गरेको आरोपमा राप्रपा इलामका नेता यमनाथ भण्डारीलाई पार्टीले निलम्बन गरेको छ।

राजदुवालीमा अहिले पनि भक्तजन र दर्शकको भिड बाक्लिँदो छ। कसैका लागि यो ‘दैवी चमत्कार’ हो भने, कसैका लागि मात्र ‘सामाजिक मञ्चको हल्ला’। तर इलामको सानो गाउँ अहिले देशभर चर्चाको केन्द्र बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka