Premier Cables
Premier Steel

खेलकुद

संकटाको शानदार प्रदर्शन : झापा एफसी ६-० ले पराजित

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines

बिर्तामोड । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको संकटा फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै घरेलु टोली झापा एफसीलाई ६-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको सुरुवातदेखि नै संकटाले आक्रमक शैली अपनाएको थियो। खेलको १३औँ मिनेटमा सुक्रिया मियाको प्रहार झापाकी गोलकिपर सुजता तामाङले सजिलै नियन्त्रण गरिन्। त्यसपछि १५औँ मिनेटमा अनिसा राईको फ्रिकिक र २३औँ मिनेटमा समिक्षा मगरको टाढाबाट हानेको प्रहार पनि सुजताले रोकिन्।

बिज्ञापन

तर, निरन्तर दबाब झेलिरहेको झापा अन्ततः २३औँ मिनेटमा गोल खान बाध्य भयो। राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै संकटकालागि पहिलो गोल गरिन्। कप्तान यशोदा शाहीले ३०औँ मिनेटमा फ्रिकिकमा गोलको अवसर गुमाइन्, तर पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० मा पुर्‍याइन्।

दोस्रो हाफमा संकटा झन् आक्रामक बन्यो। ५५औँ मिनेटमा भुटानी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै स्कोर ३–० बनाइन्। त्यसपछि ६१औँ मिनेटमा पूर्णिमाले नै सेनु परियारको पासमा गोल थप्दै अन्तर ४–० बनाइन्।

८३औँ मिनेटमा रेनिसा शर्माको क्रसमा पूर्णिमाले अर्को गोल गरिन् भने खेलको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही क्षणमै गोल गर्दै संकटाको जित ६–० मा सुनिश्चित गरिन्।

उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।

खेलपछि झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। त्यस्तै, संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने “रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भयौँ,” प्रतिक्रिया दिए।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

त्यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन्।

दर्शकका लागि क्वार्टरफाइनलसम्म सामान्य टिकट दर १०० र २०० रुपैयाँ, र भिआइपी टिकट १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजक समितिले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka