Premier Cables
Premier Steel

खेलकुद

झापा महिला गोल्डकप: क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजार रुपैयाँको टिकट बिक्री

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–स्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणमा नयाँ रेकर्ड बनाएको छ। प्रतियोगिता क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ।

स्थानीयदेखि आसपासका जिल्लासम्मका दर्शकहरूको उत्साहपूर्ण उपस्थितिले दुधे रंगशालामा दैनिक चहलपहल बढाएको छ। महिला फुटबलप्रतिको बढ्दो चासो, स्थानीय प्रतिभाको सहभागिता र विभागीय टोलीबीचको प्रतिस्पर्धाले दर्शक आकर्षण झनै उच्च भएको आयोजकको भनाइ छ।

बिज्ञापन

आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले भने,

“दर्शकको जोश र समर्थनले हामीलाई अझ जिम्मेवार बनाएको छ। टिकट बिक्रीबाट उठेको रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र रंगशाला व्यवस्थापनमा खर्च हुनेछ।”

टिकट बिक्री विवरणअनुसार, क्वार्टर फाइनलका तीन खेलबाट ९ लाख ७० हजार रुपैयाँ र अन्तिम क्वार्टर फाइनल खेलबाट १ लाख ७४ हजार रुपैयाँ संकलन गरिएको छ। सुरुवाती चरणमै रंगशाला भरिभराउ हुने अवस्था देखिएको थियो, विशेषगरी विभागीय टोलीको खेलमा दर्शक संख्या उल्लेख्य थियो।

सेमिफाइनल खेलहरूका लागि टिकट दर सामान्य दर्शकका लागि रु. २०० र ३०० तथा भिआइपीतर्फ रु. १,००० तोकिएको आयोजकले जनाएको छ। साथै, प्रत्येक दिन दुई जना भाग्यशाली दर्शकलाई उपहार प्रदान गरिनेछ।

विजेता टोलीले नगद रु. १० लाख १० हजार, उपविजेताले रु. ५ लाख, सर्वोत्कृष्ट खेलाडीले रु. १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई रु. २५ हजार का दरले पुरस्कार दिइनेछ। हरेक खेलको प्लेयर अफ द म्याचलाई रु. १५ हजार र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते दुधे रंगशालामा हुनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka