विराटनगर । मोरङको रंगेलीमा श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् ।
रंगेली नगरपालिका वडा नं ५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीमा अस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना घटना मंगलबार बिहान २ः४५ बजेतिरको भएको हो।
२१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
मुकेश सोमबार बेलुका ससुराली घरमा पुगेका थिए ।
घरेलु विवादका क्रममा कुटपिट गरेका थिए । अम्बिकाकुमारीलाई चक्कुले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको देखिन आएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् ।
घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।
