Premier Cables
Premier Steel

खेलकुद

नेपाल आज कुवेतसँग विश्वकप छनोट खेल्दै, कप्तान रोहित भन्छन्- तयार छौं

Calendar बुधबार, असोज २२, २०८२  | बिहान ८:११ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउँदैछ। पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको टर्फ–१ मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ कुवेत र जापान पनि रहेका छन्। दोस्रो खेलमा नेपालले शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

बिज्ञापन

छनोटअघि नेपालले तयारीका क्रममा वेस्ट इन्डिजसँग तीन टी–२० खेलको शृंखला खेलेको थियो, जसमा नेपालले २–१ को ऐतिहासिक जित हात पारेको थियो। उक्त शृंखला युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न भएको थियो। त्यस्तै, ओमानमै सम्पन्न अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले र ओमानलाई ६ विकेटले पराजित गर्दै शतप्रतिशत जित निकालेको थियो।

कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको सफलताले टिमको मनोबल उच्च बनाएको बताए। उनले भने, “वेस्ट इन्डिज शृंखलाले निकै आत्मविश्वास दिएको छ। विशेषगरी पहिलो र दोस्रो खेलमा हाम्रो प्रदर्शन राम्रो रह्यो। तर, यो छनोट प्रतियोगिता शून्यबाट सुरु गर्ने ठाउँ हो, र हामी त्यसका लागि तयार छौं।”

नेपालले अहिलेसम्म दुई पटक मात्र टी–२० विश्वकप खेल्ने मौका पाएको छ। पहिलो पटक २०१४ मा बंगलादेशमा पारस खड्काको कप्तानीमा र दोस्रो पटक २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा रोहित पौडेलको कप्तानीमा विश्वकप खेलेको थियो।

यो छनोट प्रतियोगितामा एशिया र प्यासिफिक क्षेत्रका ९ टोली सहभागी छन्। ती टोलीलाई तीनवटा समूहमा विभाजन गरिएको छ, जसमा हरेक समूहमा तीन टोली छन्। समूह चरणपछि शीर्ष दुई टोली सुपर–६ मा प्रवेश गर्नेछन्। सुपर–६ चरणको अन्त्यमा शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka