






बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ ।
आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो ।
नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ ।
प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । शिवसताक्षीको दुधे रंगशालामा हुने प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।
नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, एक टिम भारत, एक टिम भुटान तथा बाँकी तीन टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
महिला खेलाडीलाई प्रोत्सहान गर्दै झापामा महिला खेलाडी उत्पदानमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको उद्देश्य रहेको छ । त्यसका लागि दुधे रंगशालाको निर्माण तथा स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।
पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्नेगरी तीव्रस्तरमा काम भइरहेको संरक्षक रहेका शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले बताए । प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।