






विराटनगर । सुनसरीको झुम्का कारागारमा एकैपटक ठूलो संख्यामा कैदीबन्दी बिरामी परेपछि स्वास्थ्य प्रतिष्ठान र प्रशासन सतर्क बनेका छन्।
कारागारभित्र कैदीहरूलाई ज्वरो, जिउ दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार साँझ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जानकारी दिएका थिए।
जानकारी पाएलगत्तै प्रतिष्ठानले उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ र निर्देशक डा. जगत नारायण प्रसादको निर्देशनमा ९ सदस्यीय द्रुत प्रतिक्रिया टोली (आरआरटी) खटाएको थियो। मेडिसिन, इमर्जेन्सी, जेनेरल प्राक्टिस र एनेस्थेसियोलोजी विभागका चिकित्सकसहितको टोलीले कारागारमा स्थलगत परीक्षण र उपचार सुरु गरेको थियो।
प्रतिष्ठानका अनुसार करिब १,८०० कैदीमध्ये झन्डै ४ सयजना प्रभावित हुन सक्ने अनुमान छ। तीमध्ये करिब १ सयमा ज्वरो देखिएको र केहीलाई श्वासप्रश्वासमा समस्या रहेको पाइएको हो। प्रारम्भिक परीक्षणमा ३५ जनामा डेंगु परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ भने १० जनाको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ।
बुधबार राति नै अवस्था गम्भीर देखिएका ५ कैदीलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो। बिहीबार थप ५ जना कैदी भर्ना भएका छन्। पछिल्लो दुई सातादेखि लगातार बिरामी आउँदै आएको र समस्या पुरानो हुनसक्ने निष्कर्ष बैठकमा निकालिएको प्रतिष्ठानका सह–प्रवक्ता अभिजीत कुमारले बताए।
उनका अनुसार पछिल्लो एक सातामा समान लक्षण देखिएका ३ कैदीको मृत्यु भइसकेको छ—एकजनाको कारागारमै, एकजनाको इनरुवा अस्पतालमा र एकजनाको प्रतिष्ठानमा। मृतकमध्ये एकमा सेप्टिक शक र मल्टिपल अर्गन डिसफंक्सन पाइएको थियो।
करिब दुई साताअघि सोही कारागारका एक कैदी जापानीज इन्सेफलाइटिसको उपचारपछि निको भई फर्किएका थिए। प्रतिष्ठानका विशेषज्ञहरूले अहिले देखिएको समस्या भाइरल संक्रमण हुनसक्ने अनुमान गरे पनि अन्य रोगको सम्भावना ननकारिएको बताएका छन्।
प्रतिष्ठानले तत्काल गम्भीर अवस्था नभए पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य संगठनको डिसास्टर टिमले पनि संक्रमित कैदीहरूको नमुना संकलन गरी थप परीक्षण गर्ने तयारी गरेको छ।
हालसम्म ३ सयभन्दा बढी कैदी बिरामी परेको र उनीहरूको उपचार बीपी प्रतिष्ठान र जिल्ला अस्पताल इनरुवामा भइरहेको कारागार प्रशासनले जनाएको छ।