Premier Cables
Premier Steel

अर्थ

नेपाली प्लाइउडलाई भारतमा आईएसआई प्रमाण पत्रको झमेला, उद्योगीले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण

Calendar मंगलबार, भाद्र १७, २०८२  | अपराह्न १२:०१ बजे

विराटनगर । भारतले नेपाली प्लाइउडको निर्यातमा फेरि अवरोध सिर्जना गरेको छ। ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआईएस) बाट जारी गरिने आइएसआई प्रमाणपत्रको अवधि सकिएको भन्दै भारतीय भन्सारले नेपालबाट भारततर्फ निकासी भएका प्लाइउड बोकेका ट्रकहरू सीमामा रोकिदिएको छ।

पछिल्लो दुई सातादेखि विराटनगरको रानी नाका पारिको जोगवनी र झापाको काँकडभिट्टा नाका पारिको पानीटंकी भन्सार क्षेत्रमा दर्जनौं ट्रक रोकिएका छन्। यसले नेपालको प्रमुख निर्यातमूलक उद्योगमध्ये पर्ने प्लाइउड उद्योगहरू पुनः संकटमा पारेको छ।

बिज्ञापन

नेपाल प्लाइउड एसोसिएशनका केन्द्रीय सदस्य खेमराज प्रसाईंका अनुसार, “देशभर करिब ९० वटा प्लाइउड उद्योग छन्, तर तीमध्ये केवल ९ वटाले मात्र आइएसआई प्रमाणपत्र पाएका छन्, त्यो पनि एक वर्षका लागि मात्र। अहिले प्रमाणपत्रको अवधि सकिएको छ र नवीकरण प्रक्रियामा ढिलाइ भएको छ।”

उद्योगहरूले बिआईएस मा आवेदन दिइसकेका छन् र आवश्यक शुल्क पनि बुझाइसकेका छन्, तर भारतबाट प्रमाणपत्र जारी नभएकाले समस्या चुलिएको हो।

पूर्वाञ्चल प्लाइउड संघ, कोशीले मुख्यमन्त्री हिक्मत कुमार कार्कीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ। ज्ञापनपत्र संघका कोशी प्रदेश अध्यक्ष सीताराम अग्रवालको नेतृत्वमा बुझाइएको हो।

संघका अनुसार, नेपालको कुल प्लाइउड उद्योगमध्ये करिब ६० प्रतिशत उद्योग कोशी प्रदेशमा छन्। यी उद्योगहरू हाल उत्पादनमा आत्मनिर्भर भइसकेका छन् र भारतबाट प्लाइउड आयात गर्नु परिरहेको छैन। तर, निर्यातमा भारतले ISI प्रमाणपत्र अनिवार्य गराउँदै अवरोध गरेको हो।

भारतले यो विषयमा सन् २०२४ मार्च १५ मा राजपत्रमार्फत सूचना जारी गर्दै २०२५ फेब्रुअरी २८ (२०७१ फागुन १६) देखि आइएसआई प्रमाणपत्रबिना प्लाइउड आयात गर्न नपाइने प्रावधान ल्याएको थियो। त्यसको तयारीस्वरूप अहिले नै निर्यातमा अवरोध शुरु गरिएको छ।

नेपाल प्लाइउड एसोसिएशनका अर्का केन्द्रीय सदस्य महावीर मित्रुका अनुसार, “हाल प्लाइउड नेपालबाट भारत निर्यात हुने वस्तुहरूमा १०औं स्थानमा पर्छ। यदि सरकारको सहजीकरण भएमा यो निर्यात पाँचौं स्थानसम्म उक्लन सक्छ।”

यसअघि पनि भारतले दुई वर्षअघि यस्तै अवरोध गरेको थियो, जुन सरकारको लबिङ पछि हटाइएको थियो। अहिले पुनः समस्या देखिएपछि उद्योगीहरू सरकारसँग तत्काल पहल गर्न माग गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka