






सांकेतिक फोटो
विराटनगर । भारतबाट नेपालमा लागुऔषध आपूर्ति गर्न आएका दुई भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन्। उनीहरूबाट ठूलो मात्रामा खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको छ।
पक्राउ परेकामा भारत बिहार राज्य अन्तर्गत कटिहार जिल्लाको शिवानापुर–४ निवासी ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र खरसोता–५ निवासी ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
विराटनगर महानगरपालिका–१५ स्थित मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडकमा शंकास्पद रूपमा गफगाफ गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि गरिएको शारीरिक खानतलासीका क्रममा मोहम्मद सद्दाम हुसेनको झोलाभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको करिब १४७ ग्राम ब्राउन सुगर फेला परेको डीएसपी चुँडालले जानकारी दिइन्।
दुवै जना हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन्। उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान इन्स्पेक्टर कविन राईको नेतृत्वमा भइरहेको प्रहरीले जनाएको छ।