Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

उत्तराखण्डमा ७ नेपालीको मृत्यु, १८ जना सम्पर्कमा छैनन्

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ८:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन्।

मंगलबारको भारी वर्षाका कारण उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो। नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्।

बिज्ञापन

जाजरकोटको कुशे गाउँपालिका २ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ। कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी दिए ।

२१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताए । यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताए ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्रखड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

जाजरकोटको कुशे गाउँपालिकाले आज विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरुको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले घटनाबारे कुशे गाउँपालिकाले निकालेको विज्ञप्तिलाई आधिकारिक मानेर गृह मन्त्रालयसँग उद्धार र खोजी कार्यका लागि आवश्यक समन्वय गरिदिन पहल गरेको बताए ।

गाउँपालिकाले सम्पर्कविहीन भएकाहरुको खोजी तथा उद्धार गरिदिने संघ सरकारमार्फत भारत सरकारलाई आग्रह गरेको छ । यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोज तथा उद्धार गरिदिन भारतीय पक्षसँग पहल गरिरहेको बताए ।

यसैबीच भारत सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी र उद्धार जारी राखेको छ । एसडीआरएफका आईजी अरुण मोहन जोशीका अनुसार घटना भएको स्थानमा उद्धार र राहत कार्य जारी छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अहिलेसम्म २ सय ७४ जनाको उद्धार गरिएको बताउनुभएको छ । अत्याधुनिक उपकरणसहितको टोली पनि हर्षिल पुर्‍याएर उद्धार कार्य अझ प्रभावकारी र छिटो बनाउने प्रयास भइरहेको भारत सरकारले जनाएको छ ।

यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् । सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।

यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा नेपालीहरु फसेको घट्नाले आफुलाई दु:ख लागेको र खोजीका लागि आवश्यक दूतावासमार्फत कुटनीतिक छलफल भइरहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka