Premier Cables
aarya

शेयर बजार

नेप्से घट्दा लगानीकर्ता ‘पर्ख र हेर’को मनस्थितिमा

Calendar बुधबार, असार ०४, २०८२  | साँझ ५:१६ बजे

काठमाडौं । बुधबार नेप्से सूचक १.२८ अंकले घटेर २६५३.४७ विन्दुमा झरेको छ । आज ९ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार रकम मंगलबारको भन्दा धेरै हो ।

मंगलबाट ७ अर्ब ६५ करोड भन्दा धेरैको सेयर कारोबार भएको थियो । सूचकमा ठूलो उतारचढाव देखिएको छैन । बजार साइडवेजमा छ । त्यसमाथि, पछिल्लो समय केही सीमित स्टकमा मात्र चहलपहल बढेको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । त्यसैले बजार सुस्त गतिमा चलिरहेको विश्लेषणकहरु बताउँछन् । यद्दपि, अहिले धेरै कुराहरुले बजारलाई सपोर्ट गरेको छ ।

बिज्ञापन

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र निक्षेपमा अत्यन्त न्यून ब्याजदरका कारण अब धेरैको आकर्षण सेयर बजारतिर हुने विश्लेषणहरु भइरहेका छन् । यतिबेला निक्षेपकर्ताहरु बिच्किएको अवस्था छ । बचतमा ३-४ प्रतिशत हाराहारीमात्र ब्याजदर छ । यस्तै मुद्दतिमा पनि बैंकहरुले निकै कमदरमा ब्याज दिएका छन् ।

यसकारण पैसाको रोटेसन गर्नेहरुले बैंक निक्षेपबाट रकम झिकेर सेयर बजारतिर लगाउन थालेको देखिन्छ । यस्तै, लगानीका अन्य क्षेत्रहरु यतिबेला संकुचित भएको अवस्था छ । रियल स्टेट क्षेत्र ठप्प छ । व्यापार–व्यवसायदेखि अरु क्षेत्रहरु पनि गतिशील हुन सकेको छैन । अर्थतन्त्र लामो समयदेखि मन्दीमा रहेकाले समस्या भएको हो । यसर्थ, अब अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने जानकारहरु बताउँछन् । यस्तै, बैंकहरुले निरन्तरजसो ब्याजदर घटाइरहेका छन् ।

अधिक तरलताको अवस्था विद्यमान रहेकाले तत्काल ब्याजदर बढ्ने अवस्था नरहेको बैंकरहरु बताउँछन् । असार महिनामा त अझै बैंक–वित्तीय संस्थाहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । सबैको ध्यान रिकोभरीमै हुन्छ । यसआधारमा अझै लामै समय अधिक तरलताको अवस्था नै रहने सेयर लगानीकर्ताहरुको बुझाई रहेको देखिन्छ । बैंकरहरुका अनुसार अहिले सेयर धितो कर्जामा अलिबढी आकर्षण देखिएको छ । अरु क्षेत्रका कर्जामा खासै माग छैन । यसकारण सेयर बजारतिरै कर्जा प्रवाहमा वित्तीय संस्थाले पनि जोड दिएको पाइन्छ ।

त्यसो त पछिल्लो समय ठूला कर्जाका लागि पनि जोखिमभार कम गरिएको छ । अब ५० लाखभन्दा माथिका सेयर कर्जामा समेत एक सय प्रतिशतमात्र जोखिमभार हुनेछ । ठूला लगानीकर्ताहरुले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने क्रम बढ्न थालेको तथ्यांकहरुले देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पनि समग्र सेयर धितो कर्जा करिब ३९ प्रतिशतले बढेको छ । ठूला कर्जाको माग अझ बढी छ ।

यसआधारमा बजारमा माग बढ्ने र त्यसले सेयर मूल्य बढाउन भूमिका खेल्न सक्ने विश्लेषणहरु भइरहेका छन् । त्यतिमात्र होइन, असार–साउनमा अधिकांश वर्षहरुमा सेयर बजार सकारात्मक भएको इतिहास छ । यस्तै, अब साउन लागेसँगै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । मुनाफा बढाएको रिपोर्ट आएमा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सहयोग गर्नेछ । वित्तीय विवरण सार्वजनिक भएलगत्तै लाभांश घोषणा गर्ने समय सुरु हुनेछ ।

यी कारणहरुले वर्षायाममा सेयर बजार तुलनात्मकरुपमा बढी सकारात्मक र चलायमान हुने गरेको पाइन्छ । कारोबार रकम बढ्दै गएकाले बजारमा सहभागीहरुको सख्ंया बढेको र विस्तारै सकारात्मक बाटो समाउन सक्ने अनुमान गरिएको हो । यस्तै, आगामी मौद्रिक नीति अझै सहज र लगानीमैत्री आउन सकेमा त्यसले पुँजी बजारको समग्र वातावरण थप सहज बनाउन सक्नेछ । बुधबार ३१४ स्टकको २ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो