विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । प्रदेश सरकारको आम्दानीमा वृद्धि देखिए पनि विकास बजेट खर्चको अवस्था भने कमजोर रहेको छ ।
तर, आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँटबाट आएको हो । प्रदेशको आफ्नै आन्तरिक राजस्व संकलनमा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेश सरकारले सवारीसाधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, यातायात क्षेत्रबाट प्राप्त हुने शुल्क तथा अन्य प्रशासनिक सेवाबाट आन्तरिक राजस्व संकलन गर्दै आएको छ ।
आन्तरिक राजस्वमा उल्लेख्य सुधार
प्रदेशको आन्तरिक राजस्वमा भएको वृद्धिलाई सकारात्मक रूपमा हेरिएको छ । विशेषगरी सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसनलगायतका शीर्षकबाट हुने आम्दानी प्रदेशको आन्तरिक स्रोतका प्रमुख आधार हुन् ।
यसअघि जेनजी आन्दोलनपछि यातायात तथा मालपोत कार्यालयमा सेवा प्रवाह प्रभावित हुँदा प्रदेशको आन्तरिक राजस्व संकलनमा गिरावट आएको थियो । त्यसपछि सेवा प्रवाह सामान्य बन्दै जाँदा राजस्व संकलनमा सुधार देखिएको हो ।
आम्दानी बढे पनि विकास खर्च सुस्त
आम्दानीको अवस्था सुधारोन्मुख देखिए पनि प्रदेश सरकारको बजेट कार्यान्वयन भने कमजोर छ । पहिलो तीन महिनामा विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च निकै न्यून रहेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार पहिलो त्रैमासिकमा कुल बजेट खर्च ९.७४ प्रतिशतमा सीमित भएको थियो । पुँजीगत खर्च भने ५ प्रतिशतभन्दा कम रहेको थियो ।
