काठमाडौं । लामो प्रतीक्षापछि आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि विभिन्न ६ खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।
दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ खेलको प्रतिस्पर्धा सुरु हुने जनाइएको छ ।
प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रोका खेल सञ्चालन हुनेछन् ।
अन्य खेल विभिन्न जिल्लामा बाँडिएको छ । टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा तथा शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना हुनेछन् । त्यसैगरी आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुने तालिका छ ।
प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका दुई जिल्लासहित कर्णालीका विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । तर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल आयोजना गरिएको छैन ।
प्रतियोगितालाई लक्षित गर्दै वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न प्रदेशका खेलाडी तथा खेल टोलीहरू पनि वीरेन्द्रनगर पुगिसकेका छन् ।
सोमबार वीरेन्द्रनगरस्थित रंगशाला हस्तान्तरणसँगै उद्घाटन गरिएको थियो । मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन् ।
खेलकुद प्रतियोगिताबारे प्रचारप्रसार गर्न वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो । र्यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागिता थियो ।
लामो समयको प्रतीक्षापछि कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन दुवै वीरेन्द्रनगरस्थित रंगशालामा हुनेछन् । मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मङ्सिर २७ गते समापन गर्ने तालिका तय गरिएको छ ।
