Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरका १० वर्षका उपलब्धि र चुनौती अब पुस्तकमा

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान ७:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाले हासिल गरेका उपलब्धि, विकासका प्रयास र स्थानीय सरकारको अनुभव समेटिएको पुस्तक सार्वजनिक गरिएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष : अनुभव र उपलब्धि’ नामक पुस्तक आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

विज्ञापन

विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

पुस्तकमा संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाको विकासक्रम, स्थानीय सरकारको कार्यसम्पादन, नेतृत्वको भूमिका र हासिल भएका उपलब्धिलाई समेटिएको छ।

पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख नागेश कोइरालाले यसलाई विराटनगरको इतिहास, विकासक्रम र स्थानीय शासन प्रणाली बुझ्न महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरे। पुस्तकले वर्तमान पुस्तासँगै भावी पुस्तालाई पनि महानगरको विगत र नेतृत्वको योगदान बुझ्न सहयोग पुग्ने उनको भनाइ थियो।

उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको एक दशकको अनुभव र उपलब्धि अभिलेखीकरण हुनु महत्वपूर्ण भएको बताइन्। विगतका अभ्यास र अनुभवले आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले उल्लेख गरिन्।

पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले महानगरको पछिल्लो एक दशकका अभ्यास, प्रयास, उपलब्धि र चुनौतीलाई समेटेर पुस्तक तयार गरिएको बताए।

पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले यसले स्थानीय शासन र विकासको अनुभव अध्ययन गर्न चाहने जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई उपयोगी सामग्री उपलब्ध गराउने बताए।

पुस्तकमा महानगरको स्थापना कालदेखि हालसम्मको नेतृत्व र योगदानको समीक्षा, संघीयतापछिका प्रमुख तथा उपप्रमुखसँगका अन्तर्वार्ता, १९ वटै वडाको परिचय, वडा कार्यालयको अवस्था तथा विकासका प्रयास र चुनौती समावेश गरिएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ ले यसअघि पनि ‘वडा परिचय’ नामक पुस्तक प्रकाशन गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka